चितवनको माडी डुबानमा

चितवन : चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुबान हुन थालेको छ ।

बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी–३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

त्यहाँका घरहरूमा पानी पस्न थालेको छ ।

माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ ।

माडी नगरपालिका–७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् ।

खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ । अहिले पनि पानी परिरहेको स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए ।