
सिमकोट । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ ।




कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ ।

“विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुवाले एकसरो सबै व्यवस्था गरिदिनुभयो । दुःखजिलो गरेर बसेकी छु”, लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाउनुभयो ।
बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उहाँको भनाइ छ ।
त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आउनुभएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् ।
त्यो कसरी रु प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्नुहुन्छ, “अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ” यो समाचार आजका गोरखापत्र दैनिकले छापेको छ ।