पौडेल समुहका नेताहरुको बैठक जारी, आजै समितिले प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापतिका आकांक्षी नेताहरुको बैठक बसिरहेको छ। १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको बताइएको छ ।

आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार दिने विषयमा छलफल गर्नका लागि उक्त समूहको बैठक बसेको हो। बैठकमा क्रियाशील सदस्यताको विवादका विषयमा पनि छलफल हुने भएको छ। काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी छन्।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक-पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९-१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने जिम्मा पाएको तीन सदस्यीय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेको छैन।

क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउन लागेको छ। प्रतिवेदन आज साँझ ५ बजेभित्र बुझाउने समितिको तयारी रहेको समितिका सदस्य रमेश लेखकले जानकारी दिए । हिजो केही विषयमा विवाद भएकाले समितिले प्रतिवेदन बुझाउन नसकिएको उनले बताए ।