विद्यालयमा बाढी पस्यो, पढाइ बन्द

मनाङ । बाढीपहिरोले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयहरुमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनी बताउँछन् ।

जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था नरहेको रेग्मीले बताए । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ ।
चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताए । ‘विद्यालयमा अझै पनि नदी बगिरहेको छ, अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको छ,’ भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले भने ।
त्यस्तै नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मर्स्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पु¥याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताए ।

सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको मर्स्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन ।
कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको छ ।

बाढीपहिरोका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिरोले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।