
जनकपुरधाम । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा पनि सहभागी हुने भएको छ ।
निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधिलाई भदौ २२ सम्मको समय दिएको छ । सो समयभित्र दल रोजेर नेकपा एकीकृत समाजवादीले प्रदेश २ सरकारमा सहभागी हुने छ ।
नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतो भन्छन्, ‘अहिले एमालेमै छु । बुधबार निर्वाचन आयोगमा सनाखत गरी एकीकृत समाजवादी पार्टी रोज्छौं । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागी हुन्छौं ।’
उनका अनुसार प्रदेश सरकारमा पार्टी सहभागिताको विषयमा निर्णय गर्ने जिम्मा अध्यक्ष नेपाललाई दिइएको छ । प्रदेशमा पार्टीको मन्त्रालय बाँडफाँडको विषय पनि केन्द्रले नै मिलाउने उनले बताए ।
प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जना माधव नेपाल नेपालनिकट हुन् । उनीहरू सबैजना निर्वाचन आयोगमा सनाखत गरेर एकीकृत समाजवादी रोज्ने दाबी गरिएको छ । नेपाल गुटमा रहेका कतिपय सांसद कुन दल रोज्ने विषयमा बोल्न मानेका छैन ।