
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । यसअघि नै पार्टीको आसन्न १४औं महाधिवेशनमा पदाधिकारीमा उठ्ने संकेत गरेका उनले आज बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
आज दिउँसो सुन्दरीजलमा एक कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्ने उनले बताएका छन् । कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले भने भदौ १४ गते नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए ।
कांग्रेसको विधानमा दुई जना महामन्त्री हुने व्यवस्था छ । यसअघि एक महामन्त्री निर्वाचित र अर्को मनोनित हुन्थे । संशोधित विधानमा दुवै महामन्त्री निर्वाचित हुने व्यवस्था छ । शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।
२५ जनाको लागि भएको खुला निर्वाचनमा उनी १४औँ स्थानमा थिए । अहिले पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापतिसमेत हुन् । शर्मा २०५७ पुसमा सभापतिमा निर्वाचित भएका थिए ।