
काठमाडौं : अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।
नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।
सो टोली एमसीसीबारे छलफल गर्न आएको हो । एमसीसीबारे नेपाली राजनीतिक वृत्तमा एकमत हुन सकेको छैन । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि भन्दै चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाबीच द्विपक्षीय सहमति भएको थियो ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगै अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने करिब ६० अर्ब रुपैयाँ सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो ।