एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै दायर रिटको सुनुवाइ आज

काठमाडौँ : नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ । बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले सर्वोच्चमा दायर गरेका रिट बिहीबार न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ ।

आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उनीहरु सर्वोच्चमा गएका हुन् । रिटमा उनीहरुले अन्तरिम आदेशको माग गरेका छन्। रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरेका छन् ।

बिज्ञापन

निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका उनीहरु पछि सनाखतको समयमा भने उपस्थित भएका थिए । आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो ।