
दमक । कोरोनाले बिश्व अर्थतन्त्रलाई तहसनहस पारेको बेला पनि झापा गौरादह नगरपालिका ६ नम्बर वडा दामुनामा करोड भन्दावढी लागतमा साबुन उद्योग खुलेको छ ।देशमा अधिकांश युवाहरु रोजगारीको सम्भावना नभएको भन्दै विदेश जाने परिपाटी नै बसेको अबस्थामा स्थानीय तीन युवा खेम राज कडरिया , कमल श्रेष्ठ र देवराज बुढाथोकी मिलेर करोड भन्दा बढी लगानीमा उद्योग खोलिएको हो ।
प्रदेश नम्बर १ का उद्योग , पर्यटन , बन तथा बाताबरण मन्त्री लछुमन तिवारीको प्रमुख आतिथ्य मा आज एक कार्यक्रम बिच झापाली ग्रुप अफ कम्पनी प्रा.ली.द्वारा उत्पादन हुने गुन्जन लुगा धुने साबुन उद्योगको उद्घाटन गरिएको छ ।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तिवारीले भने `यस्तो कोरोनाको महामारीको बिचमा पनि स्वदेशमै जोखिम मोलेर उद्योग खुल्नु आफैंमा प्रशंसा योग्य कुरा हो , त्यसमाथि पनि ग्रामीण क्षेत्रमा युवाहरुले उद्योग खोलेर अन्यलाई पनि रोजगारीको अबसर सृजना गरेर संचालक युवाहरुले अत्यन्तै सम्मान योग्य काम गर्नु भएकोमा बधाई दिन चहान्छु ।´
`हामीले देशमा बढ्दो बेरोजगारी समस्यालाई थोरै भएपनि समाधान गर्ने नियतले र युवहरु देशमै रोजगार मुलक व्यवसायमा उन्मुख हुनुपर्छ भन्ने उदेश्यले यो उद्योग स्थापना गरेका हौं,हामीले उत्पादन गरेको साबुनले सस्तो मूल्यमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय अन्य उत्पादन भन्दा उत्कृष्ट रहनेछ भन्ने कुरामा उपभोक्ताहरुलाई बिश्वास दिलाउन चाहान्छौं ।´ कम्पनीका अध्यक्ष खेमराज कडरियाले भने ।
`नेपालमा उद्योग खोल्नु आफैमा एउटा जोखिम हो , बिबिध जोखिमहरुको बाबजुद पनि गाउँमै केही गरौं भन्ने भावनाले उद्योग खोलेका छौं । आधुनिक प्रविधि र वातावरण मैत्री ढंगले संचालन हुने हाम्रो उद्योगलाई सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।´ अर्का संचालक कमल श्रेष्ठले भने ।
`हामीले बैंकबाट ऋण लिएर उद्योग खोलेका हौं , धेरै जोखिम मोलेर भएपनि युवाहरु स्वदेशमै आत्मनिर्भर हुनुपर्छ भन्ने उदेश्यबाट प्रेरित भएर उद्योग खोलेका हौं , राज्यले पनि हाम्रो यो कामलाई आवश्यक साथ र सहयोग गर्नेछ भन्ने आशा राखेका छौं ।´ अर्का संचालक देवराज बुढाथोकीले बताए ।
स्थानीय गाँउलेहरुको बाक्लो उपस्थितिका बीच भएको उक्त कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुली , वडा नम्बर ५ का वडाध्यक्ष छत्रपती सुवेदी , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईं लगायतको उपस्थितिका बीच बिबिध सांगीतिक कार्यक्रम गरिएको थियो ।