
काठमाडौं — सत्तारुढ गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।



अध्यक्ष यादवका अनुसार बैठकमा अहिलेसम्म गरेको काम समिक्षा पनि भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा, सरकारलाई पूर्णता दिने र बजेट सँच्याउनेलगायतका विषयमा गठबन्धन सरकारबीच छलफल भएको बताए ।
उनका अनुसार ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेट सच्याउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
छलफलमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
त्यस्तै, छलफलमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ, जसपाबाट संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी थिए ।
आलोचना
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । सत्तारूढ गठबन्धनबीच संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कसले पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको छ ।
हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।