
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।
प्रधानमन्त्री मोदी कार चढेर ह्वाइटहाउस प्रवेश गरेका थिए। उनलाई स्वागत गर्न राष्ट्रपति बाइडेन आफैँ उपस्थित भएका थिए। दुई देशबीच कोरोना महामारी, पर्यावरण र प्रवासी मुद्दामा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री मोदीले आउने दसक परिवर्तकारी भएको र दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरु हुने बताए। राष्ट्रपति बाइडेन नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तार गर्नका लागि जुन बीउ रोपिएको छ, त्यो अब परिवर्तनकारी चरणमा आइपुगेको छ, प्रधानमन्त्रीले मोदीले भनेका छन्।
मोदीले भारतीय ट्यालेन्टलाई यो सम्बन्ध विस्तारका लागि पूर्ण साझेदारी गर्ने बताए।
राष्ट्रपति बाइडेनले पनि दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताए। उनले कोरोना महामारीलगायत धेरै चुनौतिहरु दुई देश मिलेर सहज बनाउने प्रतिबद्धता जनाए। उनले भारतअमेरिकाको सम्बन्धले ठूला चुनौतिहरुलाई समाधान गर्ने क्षमता राख्ने बताए।
“मलाई लाग्छ भारत र अमेरिका संसारकै ठूला लोकतान्त्रिक देश हो। दुई देशले विश्वलाई नै लाभ दिनसक्छ,” उनले भने।