
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज सर्वदलीय बैठक बोलाएका हुन्। संसद्मा जारी अवरोध खुलाउने विषयमा आजको बैठकमा छलफल हुने छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रतिपक्षी एमालेले बहिष्कार गरेको थियो । प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।
छलफलका लागि संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ । एमालले गत २३ भदौबाट प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् । एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।