माओवादी नेता पुनको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ । थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको चिकित्सकहरुले बताएका छन् ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले उपचारका लागि बैंकक जान सुझाएका थिए ।

पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् ।

यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन् । खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।