ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौँ : ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशव्यापी प्रदर्शन भएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको प्रदर्शनकारीहरुको आरोप छ । ब्राजिलको दोस्रो ठूलो सहर रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा राष्ट्रपतिविरुद्ध एकसाथ प्रदर्शन भएको हो।

विपक्षी दल र ट्रेड युनियनको संयुक्त आह्वानमा ब्राजिलका नागरिकले राष्ट्रपति विरुद्ध प्रदर्शन गरेका बीबीसीले जनाएको छ। राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको विपक्षीको आरोप छ।

त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गुमाइसकेका छन्। राष्ट्रपतिको असक्षमताकै कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको आरोपसमेत विपक्षी दलले लगाएको छ। लोकतन्त्रको रक्षाका लागि पनि नागरिकलाई सडकमा उत्रन विपक्षी दलले आह्वान गरेको छ।