
सिड्नी । एक भारतीय मूलका अष्ट्रेलियनले अष्ट्रेलियाको क्यापिटल टेरिटोरी (एसीटी) एसेम्व्लीमा भगवद्गीता छोएर शपथ लिएका छन् । एसीटी सदस्य दिपकराज गुप्ताले पहिलोपटक भगवद्गीता छोएर शपथ लिएका हुन् ।
उनले गत मंगलबार हातमा गीताको पुस्तक लिएर एसेम्व्ली सदस्य पदको शपथ लिएको बताएका छन् । ३० वर्षीय दिपक सन् १९८९ मा अष्ट्रेलिया गएका थिए ।
शपथ ग्रहणपछि दिपकले भने, ‘मैले भगवद्गीता हातमा राखेर शपथ लिने निर्णय पहिले नै गरिसकेको थिएँ । अष्ट्रेलियाको सदनमा बाइबल छोएर शपथ लिने परम्परा छ । तर मैले आफ्नो इच्छा एसेम्व्लीका अधिकृतहरुसँग राखें ।
उनीहरुले नियम कानून हेरिसकेपछि अनुमति दिए । नियममा अन्य धर्ममा विश्वास गर्ने सदस्यलाई उनीहरुले चाहे अनुसार शपथ लिन रोक्न नमिल्ने रहेछ, त्यही सुविधा अनुसार मलाई पनि भगवद्गीता हातमा राखेर शपथ लिने ऐतिहासिक अवसर मिल्यो ।’
शपथ लिईसकेपछि दिपकले सो पुस्तक एसेम्व्लीको पुस्तकालयलाई उपहार दिएका छन् ।