ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

विवादास्पद स्वास्थ्य सामग्री खरिदमा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

 

बिज्ञापन

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

 

कालोसूचीमा परेको ओम्नी समूहले अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउनेछैन ।

 

स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

 

 

स्वास्थ्य सामग्री खरिदमा सम्झौताबमोजिम काम गरेको भन्दै चौतर्फी आलोचना हुँदा समेत सरकारले ओम्नीलाई कालोसूचीमा राख्न नखोजेको भन्दै विरोध भएको थियो ।

 

स्वास्थ्य सेवा विभागले गत १९ चैतमा ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नीसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

 

विभागले मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्यमा ओम्नीसँग सम्झौता गरेको स्वीकार गरेको थियो । तर ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गर्ने निर्णय भएको विभागको भनाई छ ।