संसदको हिउँदे अधिवेशन भोलीदेखि सुरु हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोली (मंगलबार) देखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताए ।

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए ।

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।

मंगलबारदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका ह्न । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परीक्षण भइरहेको पनि जानकारी दिएको  छ ।