३८ सय वर्ष पुरानो महाभारतको साक्षी फेला पर्‍यो

एजेन्सी : महाभारतकालको खोजलाई मध्यनजर गर्दै उत्तर प्रदेशको सिनौलीमा उत्खनन गर्ने भारतीय पुरातत्त्व सर्वेक्षण (एएसआई)लाई ठूलो सफलता हात लागेको छ ।

 

बिज्ञापन

यस उत्खननमा भटिएको अवशेषलाई जाँचका लागि ल्याब लगिएको छ । कार्बन डेटिङ (समय निर्धारण विधि)को जाँचमा ३८ सय वर्ष पुरानो भएको पुष्टि भएको छ । सिनौलीको उत्खननमा भेटिएको एक हौदबारे सिग्रट चेम्बर भएको पत्ता लागेको छ ।

 

यस चेम्बरको उपयोग अन्तिम संस्कारका लागि शव लिँदा लेप आदि लगाउन गरिन्थ्यो । यसपछि ताबुतमा राखेर जमिनमुनि गाडिन्थ्यो । यस चेम्बरमा दक्षिण दिशाबाट प्रवेशको संकेत मिलेको छ । बागपतको सिनौलीमा २ वर्षसम्म लगातार उत्खनन भइरहेको छ ।

यसमा शाही ताबुत, २ ताबुतका साथ रथ, धनुष-वाण, तरबार, युद्धमा लगाइने हेलमेट आदि फेला परेको छ । ताबुतमा राखिएको शवले योद्धा भएकोतर्फ इशारा गरिरहेको छ ।

 

यी ताबुतका साथ जलेको माटोका भाँडाको अवशेष पनि फेला परेको छ । यो कति पुरानो हो भन्ने जाँचका लागि एएसआईले ३ स्याम्पल लखनऊस्थित वीरबल साहनी पूराविज्ञान संस्थानमा पठाइएको थियो ।

 

यसको रिपोर्ट करिब एक महिनाअघि एएसआईले सार्वजनिक गरेको थियो, जसमा यी अवशेष ३८ सय वर्ष पुरानो भएको पुष्टि गरेको छ ।

 

 

एएसआईद्वारा गरिएको अध्ययनअनुसार करिब ३८ सय वर्ष पहिले वैदिककालको युग थियो । त्यस समय हिन्दु रीतिरिवाजमा ३ प्रकारले शवको अन्तिम संस्कार गरिन्थ्यो । शवलाई खुला छोडिने पनि गरिन्थ्यो ।

 

जनावरले खाएपछि बचेकुचेका हड्डी नदीमा लगेर बगाइन्थ्यो । दोस्रोमा शव जलाइन्थ्यो । यो प्रचलन अहिले पनि कायमै छ । तेस्रो तरिकाअन्तर्गत शवलाई ताबुतमा राखेर गाड्ने गरिन्थ्यो ।

 

ताबुतमा राखेर जमिनमुनि गाड्ने परम्परा राजा महाराजाका लागि गरिन्थ्यो । सिनौलीमा एएसआईलाई दोस्रो पटक गरिएको उत्खननमा ताबुतभन्दा केही दूरी पर एक आयाताकार बलियो माटोको हाँडी फेला परेको थियो । तर, त्यसबेला हाँडीका बारेमा जानकारी जुटाउन सकेका थिएनन् । लगातार जारी अनुसन्धानपछि यस हाँडीका बारेमा पत्ता लागेको थियो ।

 

 

भारतीय पुरात्त्व सर्वेक्षणका महानिर्देशक डा. सञ्जय मन्जुलले भने, ‘हामी दाबी गर्न सक्छौँ कि सिनौलीमा भेटिएका ताबुतसहितका सामग्री महाभारतका साक्षी हुन् । हाल जो वस्तु उत्खननका क्रममा भेटिएका छन्, ती महाभारतकालकै भएको पक्का गर्न सकिन्छ । अब कार्वन डेटिङमा पनि यो कुरा पुष्टि भइसकेको छ । हामी उत्खननबाट भेटिएका सबै वस्तुको जाँच गरिरहेका छौँ ।’

 

हालसम्म अन्य क्षेत्रमा गरिएको उत्खननमा यस्तो कुनै पनि प्रमाण फेला परेको थिएन । उत्खनन क्षेत्र वरपर अझै पनि अन्य ताबुत फेला परेका छन् । भविष्यमा यिनको पनि जाँच गरिनेछ ।