
चितवन जिल्लामा मतदाता नामावली संकलन कार्य तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म ९ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मंसिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म ४ हजार ४४५ महिला र ५ हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा ३ हजार ५४२ जनाले नाम दर्ता गराएका छन् । पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा १ हजार ७८८ जनाले नाम दर्ता गराएको उनले जानकारी दिए ।
उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित १ हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित १ हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ जनाले नाम दर्ता गराएका छन् ।
दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत मतदाता नामावली संकलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा १ हजार ३९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा २ हजार ६१३ जनाले नाम दर्ता गराएका हुन् । जसमध्ये १ हजार ३८१ पुरुष, १ हजार २३२ महिला रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।
अभियानकै क्रममा स्थायी बसोबास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामावली संकलन गराउने ५७२ रहेका छन् । अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा १र१ वटा दर्तास्थल राखिएको छ ।
जिल्ला निर्वाचन कार्यालयमा ३ वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली संकलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए । कार्यालयका अनुसार अभियान शुरू हुनुअघि जिल्लामा ३ लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।
विक्रम संवत् २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा ३ लाख ६८ हजार ३८२ मतदाता रहेका थिए । जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन् ।
विक्रम संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ३ लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए । मतदाता नामावलीमा नाम संकलनका लागि राजनैतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ । उनले भने, ‘राजनैतिक दलहरूले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ ।’
मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिवार्य गरिएको उनले जानकारी दिए । जिल्लामा ३ निर्वाचन क्षेत्र रहेका छन् ।