
काठमाडौँ : नेकपा माओवादी केन्द्रको बन्दसत्रमा ११ वटा समूहले प्रचण्डको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।
त्यसमध्ये बुधबार ११ वटा समूहले सुझाव पेश गरेका हुन् । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहगत छलफलको निष्कर्ष पेश गरेका छन् ।
२५ मध्ये बाँकी १३ समूहका तर्फबाट समुह नेताले बिहीबार आफ्नो समुहको निश्कर्ष सुनाउनेछन् । २५ वटै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ। बिहीवारको बन्दसत्र बिहान ११ बजेबाट शुरू हुनेछ ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रतिवेदनमाथि छलफल सकिएपछि नेतृत्व चयनप्रक्रिया अघि बढ्नेछ। माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्षले दिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताए ।
महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशन बिहीबार समापन गर्ने योजना रहेपनि बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले शुक्रबारमात्र समापन गर्ने माओवादीको तयारी छ ।