
काठमाडाैँ : विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाउन सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग गरेका हुन्।
उसले राष्ट्रिय एकता दिवसमा दिनइने सार्वजनिक बिदा कटौती गर्नुलाई खेदजनक भनेको छ । ‘राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्याउँछौँ,’ साझाका प्रवक्ता शरदराज पाठकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो ।
’ साझा पार्टीले पृथ्वीनारायण शाहको अवमूल्यन गर्न उपयुक्त नहुने बताएको छ । ‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन् । तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन।
उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र समृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ,’ विज्ञप्तिमा भनिएको छ । साझा पार्टीले नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न पनि माग गरेको छ।
‘नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्याउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन (पुस २७) देखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ । उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ ।