
वालिङ, यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन् ।

जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन् । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भनिन्, “उहाँहरूले भनेको ठाउँमा गएर हेर्दा त हो रहेछ, अनि फर्काएर लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाइन् ।



दशवर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजुरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो ।

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजुरी आयोगमा परेकामा उनी पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करिब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजुरी दिएका थिए ।