‘क्रिप्टोकरेन्सी’ कारोबार पुष्टि गर्ने त्यो अनौठो सूचना

काठमाडौँ : राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो। राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो– २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन्।

नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो। यसलाई नेपालमा अवैध मानिएको छ। आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीको लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का हुन् । अनुसन्धानका क्रममा उनलाई उसकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै दिनेशकी साथी अनिता धितालले सहयोग गरेको खुलासा भएको छ । कैलालीका खड्का परिवार कुनै ठूलो आय स्रोत भएको परिवार होइन । व्यापार व्यवसायमा पनि लागेका छैनन् ।

डलरको अपचलनमा संलग्न दिनेश एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाइ सदस्य र उनका बाबु नरबहादुर एमाले सुदूर प्रदेश कमिटी सदस्य हुन् । यी व्यक्तिको खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला परेपछि अनुसन्धान अधिकृत अचम्ममा पर्नु पनि स्वाभाविक नै थियो । यी चारै जनाविरुद्ध राजस्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दर्ता गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।