
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो करिब डेढ घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।
सो क्रममा स्थानीय तह निर्वाचन र एमसीसी पास गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
मंगलबार भएको निर्वाचन आयोगसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दिएका थिए ।
त्यस्तै, माघ २६ गते बस्ने बैठकमा एमसीसी पेश गर्ने तयारीमा छन् । तर, प्रचण्ड र नेपाल भने एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने पक्षमा छन् । त्यसका लागि प्रचण्ड र नेपालले पार्टीमा छलफल अगाडि बढाएका छन् ।
भेटमा प्रचण्ड–नेपाललाई देउवाले एमसीसी पास गर्ने वातावरण बनाउन आग्रह गरेको स्रोतको दाबी छ ।