वामपन्थी आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत र एकीकृत गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्क्सवादलाई नै विकसित गर्नुपर्ने बताएका छन्।

बिहीबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले मार्क्सवादलाई आजको विश्वको आवश्यकता र आजको श्रमजीवीको आवश्यकता अनुकुल परिमार्जन गर्नुपर्ने चुनौती भएको बताएका हुन्।

वामपन्थी आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत र एकीकृत गरेर अगाडि बढ्नुपर्ने बताए। उनले भने‘निर्वाचनको तयारी हेर्दा केहि समाचार सकारात्मक भएको महसुस गरिसकेका छौं। चाहे हँसिया हथौंडामा चुनावमा लड्ने निर्णय साथीहरुको स्थिति होस् वा चाहे पार्टी एकताका निम्ति संयोजन समिति बनाउने निर्णय होस् सकरात्मक छ तर यतिले मात्रै पुग्दैन।’

अझ धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध  गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ। प्रचण्डले मेहनत गर्दा समाजवादी केन्द्र निर्माण हुने निश्चित भएको धारणा राखे । उनले पुनः एकपटक निरन्तरतामा क्रम भङ्ग गर्ने प्रक्रिया सुरु भएको समेत स्पष्ट पारे।

माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको टिप्पणी गर्दै प्रचण्डले माओवादी बिग्रन थालेको समेत बताए। तर प्रचण्डले देशमा भएका पार्टीमध्ये विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकता राख्ने पार्टी माओवादी केन्द्र मात्र भएको दाबी गरे।