विपद् प्रभावितलाई राहत दिन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना र पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्याराेमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शनिबार बिहान गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला र हिमाली जिल्लाका आठ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अफ्ट्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिए । गृहमन्त्री खाणले बिहान सहायक प्रमुख जिल्ला अधिकारी कुमारी र नेपाल प्रहरीका जिल्ला प्रमुख बसन्त रजौरेलाई बच्चाहरूको अन्त्यष्टी र अन्य आवश्यक राहतको व्यवस्था गर्न पनि निर्देशन दिए ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका एकमा कच्ची खपडाको घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमति ४५ फुलमतियादेवी मृत्यु भएको थियो । त्यही घरमा रहेका दुई बाख्रा पनि च्यापिएर मरेका थिए । गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शित लहरमा परेर अफ्टेरोमा कोही परेको भए राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन दिए ।

‘शनिबार भए पनि हिमपात, शित लहर र हावाहुरीका घटनामा तत्काल उद्दार र राहतको व्यवस्था गर्नु पर्ने हुनसक्छ, सतर्क रहनुहोला भन्ने निर्देशन मन्त्रीज्यूबाट भएको छ,’ महाशाखा प्रमुख कोइरालाले भने। त्यस्तै मन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू दिर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी पर्साई (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असर कस्तो छ, तत्काल व्यवस्थापन गर्नु पर्ने के छ सतर्क रहेर काम गर्नुहोला भन्ने निर्देशन दिएका छन् ।

त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि कुराकानी गरेर जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् । सोलुखुम्बुका प्रजिअ शाहीले मन्त्री खाणले हिमपातको असर र व्यवस्थापनबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको बताए।