इलाममा खानेपानी परीक्षण

इलाम । इलामको सदरमुकाम इलाममा खानेपानी परीक्षण गरिएको छ ।
झाडापखालाका बिरामी बढेपछि प्रदेश सरकारले खानेपानी परीक्षण गरेको हो ।

परीक्षणमा स्थानीय कुलधारा मुहानबाहेक अन्यतिरको खानेपानी पिउन योग्य नै दैखिएको छ ।
परीक्षणक्रममा बजार क्षेत्रमै रहेको इलाम नगरपालिका वडा ७, कुलधाराको पानीमा ‘इकोलाई’ देखिएको इलाम नगरले जनाएको छ । नगरको स्वास्थ्य शाखाका बालकृष्ण फुयाँलले पिउन अयोग्य देखिएको कुलधारा मुहानको पानी नपिउन सूचनासमेत गरिएको छ ।

‘इकोलाईले मानव शरीरमा हानी गर्ने भएकाले कुलधाराको पानी नपिउन उपभोक्तालाई सूचना गरिएको छ,’ उनले भने ।
करिब दुई सातायता सदरमुकाममा बढीजसो बालबालिका र अन्यमा झाडापखाला फैलिएको थियो ।

इलाम अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेपछि प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा ढल निकास विभाग, इलाम नगरपालिका, इलाम अस्पताल र स्वास्थ्य कार्यालयसहितको सहकार्यमा सदरमुकाममा पिउने पानी परीक्षण गरिएको थियो ।

सदरमुकाममा गिताङ मुहानबाट सोझै पानी आउने गुम्बाडाँडा र क्याम्पसडाँडाको ट्यांकीसहित गढीथुम्का, भ्युटावर, कर्मचारी मिलन केन्द्र, टुँडिखेललगायत क्षेत्रमा रहेका ट्यांकीको पानीको नमुना संकलन गरी परीक्षण गरिएको थियो । यीबाहेक कुलधारा, धोबिधारा र नारायणस्थानस्थित स्थानीय स्रोतको पानीसेमत परीक्षण गरिएको थियो । परीक्षणक्रममा अन्य ट्यांकी र मुहानको पानीमा समस्या नदेखिएको फुयाँलले बताए ।