
चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेस देशको ठूलो र बहुमतको पार्टी बन्ने दाबी गरेका छन् । सोमबार आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएकाले देशको ठूलो र बहुमतको पार्टी बन्ने उल्लेख गरे ।
महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताएका छन् ।
जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाए । जनादेशको अपमान गर्दै एमालेले संसद् भङ्ग गरेको उनले बताए ।
महामन्त्री शर्माले स्थानीय तहको राय सल्लाहबिना केन्द्रले निर्णय नगर्ने बताउँदै विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति दिन भन्दा बिग्रिएको, भत्किएको घर मिलाउन सुझाब दिए । उनले भने, “पहिला उहाँले आफ्नो घर सम्हाल्ने कसरी भनेर चिन्ता गर्नुपर्छ ।”