
काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदारलाई नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाइने भएको छ ।
विदेश जाने कामदारले श्रम स्वीकृति लिने व्यवस्था २ वैशाखदेखि खारेज गर्ने वैदेशिक रोजगार विभागको तयारी छ ।
सम्बन्धित मुलुकले भिसा जारी गरेपछि फेरि आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनावश्यक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।
नागरिकले सरकारबाट पासपोर्ट पाउनु भनेकै कुनै पनि मुलुकमा जान योग्य भएको प्रमाण हो । त्यस्तै, गन्तव्य मुलुकले कामदारको नाममा भिसा जारी गर्नु भनेकै कामदारलाई आफ्नो मुलुकमा काम गर्नका लागि स्वीकृति दिनु हो ।
तसर्थ, कामदारले आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेर वैदेशिक रोजगारीलाई झन्झटिलो बनाएको विभागका महानिर्देशक पौडेलको भनाइ छ । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका सल्लाहकार डा। केशव बस्यालले पनि भिसा पाइसकेपछि कामदारले नेपालबाट फेरि श्रम स्वीकृति लिनुनपर्ने बताए ।