अस्पतालको ठेक्कामा डेढ अर्ब अनियमितता : मुख्यमन्त्रीलाई जोगाउने खेल सुरु

बैशाख, वैशाख ३ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानबिन समिति संयोजक नै विवादमा तानिएका छन् ।

करिव डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानबिन गर्न गठित छानबिन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय बनेको हो ।

छानबिन समितिका संयोजक मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी बोलपत्र आह्वानसम्बन्धी निर्णयमा आफै हस्ताक्षरकर्ता थिए ।आफू अनुकुल प्रतिवेदन बनाउने गरी मुख्यमन्त्री केसीले सुवेदीलाई छानबिन समितिको संयोजक बनाएपछि त्यतिबेलै उनको आलोचना भएको थियो ।

छानबिन समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई पूर्ण रूपमा दोषी देखाउँदै मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेको हो ।

तर, तत्कालीन प्रमुख घिमिरेले भने अनियमितताको साक्षी आफू नबने भन्दै देश र जनतालाई घाटा लाग्ने काम गर्नुभन्दा बाहिर बस्ने भन्दै राजीनामा दिएका थिए । छानबिन समितिले प्रतिवेदन पेश गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने अनियमितता प्रकरणको योजनाकार नै छानबिन समितिको संयोजक रहेको प्रतिक्रिया दिए ।