
धनगढी- धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् ।
सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६–०८ देखि २०८३–०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने) बनाई कार्यान्वयनमा लैजाने सो निर्णयमा भनिएको छ । तर प्रकृयागत काम भने चालु आर्थिक वर्षदेखि नै अगाडि बढाइने जनाइएको छ ।
निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु।’ पदभार ग्रहणपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै मेयर हमालले धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताए । उक्त योजनाअनुसार नै विकास निर्माणका काम गर्ने हमालको भनाइ छ।