
युक्रेनमा मस्कोलाई चाँडो नहराएमा सभ्यता जोगाउन नसकिने अर्बपति जर्ज सोरसले बताएका छन् । स्विटजरल्यान्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरममा मंगलवार सम्बोधन गर्दै सोरसले रुस र चीन खुला समाजका सबभन्दा ठूला जोखिम भएको बताए ।
युक्रेनमा रुसले सेना पठाउनु तेस्रो विश्वयुद्धको आरम्भ भएको हुन सक्ने र यसले सभ्यतालाई नै नष्ट गर्न सक्ने सोरसले बताए । त्यहाँ युद्ध सकिए पनि पहिलेको जस्तो स्थिति नआउने उनको भनाइ छ । तर सभ्यताको जगेर्नाका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हार्नु जरूरी भएको उनले बताए ।एकअर्कासँग विपरीत रहेका खुला र बन्द समाजको शासनप्रणालीको द्वन्द्वका माझ रुसले युक्रेनमाथि आक्रमण गरेको सोरसको भनाइ छ । पश्चिम खुला समाज भएको अनि रुस र चीन बन्द समाज भएको उनले बताए ।
९१ वर्षीय सोरसले सोभियत संघ विघटनको उत्साहपूर्ण दिनको स्मरण गरे । त्यतिबेला उनको सम्पत्तिमा वृद्धि भएर उनले सन् १९८७ मा एक वर्षमै ३० करोड डलर खर्च गरेका थिए । उनले पूर्वी युरोपमा खोलेका प्रतिष्ठानहरू अपेक्षा गरेभन्दा बढी सफल भएका थिए । सन् २००१ मा ट्विन टावरमा भएका आक्रमणपछि कुरा बिग्रन थालेको उनको भनाइ छ । अहिले दमनकारी शासकहरू उदाइरहेको र खुला समाज बन्धक बनेको उनले बताए । त्यसमा पनि चीन र रुस सबभन्दा ठूलो जोखिम बनेको उनको भनाइ छ ।
युक्रेनमा भइरहेको युद्धका बारेमा सोरस आशावादी छन् । रुसी सैनिकहरूलाई युक्रेनमा मुक्तिदाताका रूपमा स्वागत पाउने अपेक्षा गरेको भए पनि युक्रेनले अमेरिका र नेटोको सहयोगमा रुसीहरूलाई हराएको उनको भनाइ छ ।तर युक्रेन द्वन्द्वले वातावरणीय एजेन्डामा अवरोध गरेको अनि यसले गर्दा जलवायु परिवर्तनको असर व्यवस्थापन गर्न नसकिने स्थितिमा पुग्न लागेको उनको भनाइ छ ।