
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ। सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो।
‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ। १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने। काठमाडौं महानगर भित्रका केही संस्थाहरूले आफ्नो शौचालयहरू स्वतस्फुर्त रुपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए।
यस्ता संस्थाहरूले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने उनले जनाए। शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइने समेत उनले बैठकमा स्पष्ट पारे। आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने संस्थाहरूलाई हरेक चार/चार महिनामा महानगरले सरसफाइ सामाग्री उपलब्ध गराउने उनले बताए ।