सबै पूर्वमाओवादीहरु छिट्टै एकै ठाउँमा आउँछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छिट्टै पूर्वमाओवादीहरु एकै ठाउँमा आउने बताएका छन् ।

पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने बताएका हुन् ।

अध्यक्ष्य प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको समेत जिकिर गरेका छन् ।आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

उनले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताएका छन् ।

पार्टी र कर्मचारी संगठनबीच राम्रो सम्बन्ध भएन भने समाजवादको यात्रा कमजोर हुने अध्यक्ष प्रचण्डको भनाई रहेको छ ।