दुबईबाट नेपाल आएर प्रसाईंलाई सुनको लौरो दिने राजकुमार सक्कली कि नक्कली ?

दमक । गत शनिवार नेपालमा दुबईका राजकुमार नेपाल आएको भनेर निकै हल्ला मच्चियो । राष्ट्रिय स्तरका संचार माध्यमले पनि महत्त्वपूर्ण स्थान दिएर समाचार प्रकाशन गरे ।

दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ। उच्च सुरक्षा दिनुपर्ने हुन्छ। राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरु विमानस्थलमा पुग्नुपर्ने हुन्छ । तर राजकुमार आएको कुरा न सरकारलाई , न कुटनैतिक निकायलाई जानकारी थियो , न राजकुमारलाई उच्च सुरक्षा नै थियो , न उनको सरकारी स्तरबाट स्वागत नै गरियो ? उनलाई स्वागत गर्न झापाका हस्पिटल संचालक दुर्गा प्रसाईं पुगेका थिए । प्रसाईं कै बिशेष निमन्त्रणा नेपाल आएका राजकुमार भनिएका व्यक्ति काठमाडौंमा सामान्य नागरिक सरह ओर्लिएर सिधै झापा हानिएका थिए ।

दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन भने नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा हो।साउदी अरेबियास्थित नेपाली दूतावासले पनि नेपाल आएका शेख मोहम्मद मत्तुम जुमा राजकुमार नभएको जानकारी गराएको श्रोतको दावी छ ।नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्।

नेपाल आएका राजकुमारले दुर्गा प्रसाईंलाई झापा आएरै सुनको लौरो उपहार दिएको तस्बिरले सामाजिक संजाल मात्र तताएन बिमानस्थलको सुरक्षाको अबस्थाको स्थितिलाई पनि दर्शाएको छ । त्यत्रो सुनको लौरो ल्याउदासम्म पनि न बिमानस्थल स्थित भन्सारले थाहा पायो , न सुरक्षा निकायले नै पत्ता लगायो ? सुनको लौरो झापा पुग्दासम्म सम्बन्धित निकायले पत्तै नपाउनु आफैंमा शंकास्पद देखिन्छ ।

दुबईका क्राउन प्रिन्स नेपालको एउटा निजी अस्पालको साधारण सिटी स्क्यान मेसिन उद्घाटन गर्न आउनु आफैमा पत्याउन सकिने कुरै भएन ।उनै राजकुमार भनिएका व्यक्तिले दुर्गा प्रसाईले झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा जडान गरिएको सिटी स्क्यान मेसिनको भर्खरै उद्घाटन गरेका छन् भने उनलाई अस्पतालसम्म रातो कार्पेट माथि हिँडाएर सम्मन गरिएको थियो ।