सर्बाेच्चद्वारा एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज

काठमाडौं । सर्बाेच्च अदालतले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । सर्वोच्चले रिट खारेज गरेसँगै धीरज प्रताप सिंह प्रहरीको एआईजी कायम रहने भएका छन्।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिएका छन् । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो । मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।