नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो ।

स्कटल्याण्डलाई जीत दिलाउन क्यालम म्याकलियोडले सर्वाधिक ६४ रनको योगदान दिए । उनले मात्र २९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर कायल कोएटजरले ४४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारीले १३ रनको योगदान दिए ।

स्कटल्याण्डका लागि हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । ग्याभिन मेनले २ विकेट लिए ।