
काठमाण्डौ। निर्वाचन आयोगले मतदाता नामावलीका लागि अनलाइन आवेदन दिएकालाई भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरेको छ । अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि फारमभरि औँठा छाप र फोटो खिच्नका लागि आवेदन दिएकाको हकमा भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
यसअघि नै फारम भरेका जसले साउन २० र २१ गते अर्थात आज र भोलिसम्मको समय लिनुभएको छ, उहाँहरुको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा औँठा छाप र फोटो लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा सहित ८ जिल्लामा नमुनाको रूपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको थियो । आजदेखि मतदाता नामावली सङ्कलनको काम भने स्थगित भएको छ ।
सरकारले हिजो आउँदो मंसिर ४ गते एकैचरणमा गर्नेगरी प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित गरेको हो । यसअघि आयोगले गएको असार एक गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।
मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित भएको आयोगले जनाएको छ ।