पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जन्मकैद | OmkarTimes.com

जनकपुरधाम । जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले मंगलबार जन्मकैदको फैसला सुनाएको छ ।

 

बिज्ञापन

यसअघि अदालतले पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा साहलाई जन्मकैदको सजाय सुनाएको थियो ।

 

 

सिङ्हानीया हत्याको करीब १० वर्षपछि गत १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाई शुरु भएको थियो ।

 

मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुई जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

 

अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

 

लामाले सञ्जयले भनेपछि आफूले सिङ्हानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पूर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।

 

यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो ।

 

घटनामा संलग्न भनिए पनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दीपेन्द्रलाई मुलतबीमा राखिएको छ । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् ।