प्रशिक्षक प्रभाकर भोलि नेपालमा आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् ।राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।

प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् ।नेपालले प्रभाकरको प्रशिक्षकत्वमा केन्याविरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ ।खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन् । सिरिजका लागि क्यानले मंगलवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।