दूध तथा मिठाइ पसलमा लापरबाही

पाल्पा- पाल्पामा दूध तथा मिठाई पसलमा अखाद्य वस्तु मिसाइएको गुनासो बढेपछि डेरी तथा मिठाई पसलहरूमा अनुगमन गरिएको छ ।

सोमबार जिल्लाको तानसेन बजार क्षेत्रमा रहेका दूध तथा मिठाइ पसलहरूमा गरिएको अनुगमनका क्रममा लापरबाही गरिएको भेटिएको हो । बजार अनुगमनका क्रममा नौ वटा नमुना प्रयोगशाला परीक्षणका लागि भैरहवा पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।

बिज्ञापन

तानसेनका मिठाइ तथा दूधको नमुना परीक्षणका लागि पठाइएको र केही दिनमा रिपोर्ट प्राप्त हुने श्रेष्ठले बताए ।  पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केही दूध पसलहरूमा मिश्रित दूध बिक्री वितरणमा लापरबाही गरिएको हुन सक्ने आशङ्का रहेको र ल्याब परीक्षण पछि थप अनुगमन गरी कानून विपरीतका कार्य भएको पाइएमा कारबाही गरिने बताए ।

उनले अनुगमनका क्रममा केही पसलहरूमा लापरबाही भेटिएको भन्दै फेरी लापरबाही भेटिए कारबाही प्रक्रिया अगाडी बढाइने बताए ।  अनुगमनका क्रममा तानसेनको बसपार्कमा रहेको डायमन्ड बेकरिजमा धेरै लापरबाही देखिएको अनुगमन टोलीको ठहर छ । डायमन्डमा किचनमा फोहोर रहेको, एउटै तेल धेरै पटक प्रयोग गरेको,सामाग्रीहरूको सरसफाइमा ध्यान नदिएको तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएको पाइएको थियो ।

तानसेन नगरपालिकाका प्रतिनिधि भरत आचार्यले अनुगमनका क्रममा धेरै मिठाइ पसलहरू समस्या देखिएको बताए ।  तानसेनको श्रीनगर डेरीको दूध तथा मिठाइ, डायमन्डको मिठाइ र गोरसघरको दूध थप परीक्षणका लागि भैरहवा पठाइएको हो ।

अनुगमन टोलीले डायमन्ड होटेलमा लामो समयदेखि प्रयोगमा रहेको झण्डै १२ लिटर तेल समेत नष्ट गरेको थियो । चाडपर्वको समयमा दूध, मिठाइ तथा अन्य पसलहरूमा निरन्तर अनुगमन गरिने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले बताए ।