
नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने खेलमा नेपालले बंगलादेशविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने योजना बनाएको छ ।
यसका लागि मुख्य प्रशिक्षक प्रदीप हुमागाईले २३ सदस्यीय टोली तयार पारेका छन् । नेपाली टोलीले विगत एक महिनादेखि प्रशिक्षण गरिरहेको छ । तर, बंगलादेश पछिल्लो समय बलियो टोलीको रुपमा प्रस्तुत भएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलअघि बंगलादेशले कम्बोडियालाई समेत हराएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले नेपालले घरेलु मैदानमा जितका लागि खेल्ने बताए । दसैँको समयमा नेपाली टोलीले जित निकाल्दै समर्थकहरूको अघि खुसी साट्ने बताए । ‘बंगलादेशको टोली बलियो छ । तर हामी बंगलादेशसँग जितका लागि नै खेल्नेछौँ । दसैँ अघि नेपाली टोलीले जित निकाल्दै समर्थकहरुलाई खुसी पार्ने योजना बनाएको छ,’ हुमागाईले भने ।
हुमागाइले आफ्नो लागि पनि राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा बंगलादेशलाई हराउने अवसर रहेको बताए । प्रतियोगिताका लागि आफू पूर्ण रुपमा तयार भएको उनको भनाई छ । ‘बंगलादेशसँगको खेल मेरा लागि पनि विशेष छ । पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएको छु । यसलाई जितसँगै अन्त्य गर्ने मेरो योजना छ,’ उनले भने ।
हुमागाईले टिम बलियो भएकोले बंगलादेशसँगको खेलका लागि राम्रो तयारी भएको बताए । घरेलु प्रतियोगितालाई आधार नमाने पनि प्रशिक्षणमा खेलाडीले देखाएको जोसले हाम्रो टिम बलियो भन्न सकिने अवस्था भएको बताए । ‘घरेलु फुटबल प्रतियोगिताहरू शून्य छन् । तर, पनि प्रशिक्षणमा खेलाडीको जोसले हामी बलियो भएको साबित गर्छ,’ हुमागाईले भने ।
प्रतियोगिताका लागि खेलाडीहरू पनि तयार भएको बताउँछन् । फरवार्ड विमल घर्तिमगरले आफूहरू बंगलादेशसँगको खेलका लागि उत्साहित भएको बताए । ‘उनीहरू निकै बलियो देखिन्छन् । तर हाम्रो अहिलेको टिम मिलेको छ । हामी पनि बलियो अवस्थामा छौँ । हामी जितका लागि खेल्नेछौँ,’ विमलले भने ।
यस्तै डिफेन्डर अनन्त तामाङले युवा खेलाडी र अनुभवी खेलाडीको सम्मिश्रणले टिमलाई राम्रो नतिजा दिलाउने बताए । उनले घरेलु दर्शकहरूको हौसलाले पनि टिम बलियो बन्ने बताए । ‘टिमको कम्बिनेसन राम्रो छ । युवा खेलाडीहरू उत्साहित छन् । घरेलु समर्थकहरूका अघि हाम्रो खेल राम्रो हुने अपेक्षा छ,’ उनले भने ।