
काठमाडौं । सरकारले आगामी एक भदौदेखि बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको निर्णय गरेसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले धमाधम टिकट बुकिङ सुरु गर्न थालेका छन् ।

आन्तरिक उडानका लागि निजी वायुसेवा कम्पनी बुद्ध एयरलायन्सले मंगलबारदेखि नै टिकट बुकिङ सुरु गरिसकेको छ । आइतबारदेखि देशभर परेको भारी वर्षाका कारण अधिकांश सडकमार्ग बाढीपहिरोले प्रभावित पारिदिएपछि समस्यामा परेकालाई गन्तव्यमा पुर्याउन विकल्पका लागि आन्तरिक हवाई उडान नै भएको भन्दै बुद्ध एयरलाइन्सले आगामी १ भदौदेखिका लागि टिकट बुकिङ सुरु गरेको हो ।



बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आगामी १ भदौदेखि यात्रा गराउन आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री सुरु भइसकेको जानकारी गराए । उनले सरकारले १ भदौदेखि आन्तरिक उडान सुरु गर्ने भनिसकेकाले आफूहरूले पनि अहिले टिकट बिक्री सुरु गरेको जानकारी दिए ।

बुद्ध एयरलाइन्सले काठमाडौंदेखि भद्रपुर जान प्रतिव्यक्ति ८ हजार ६ सय ३८ रुपैयाँ भाडादर कायम गरेको छ । यसैगरी, काठमाडौँबाट भैरहवाका लागि ५ हजार ६ सय ५९ रुपैयाँ, भरतपुरका लागि ३ हजार ३ सय ४२ रुपैयाँ, विराटनगरका लागि ६ हजार ७ सय १७ रुपैयाँ, धनगढीका लागि १० हजार ९ सय ६६ रुपैयाँ भाडा कायम गरेको जनाएको छ ।
त्यसैगरी, काठमाडौंबाट जनकपुरका लागि ३ हजार ८ सय ७१ रुपैयाँ, नेपालगन्जका लागि ९ हजार ३ सय १२ रुपैयाँ, पोखराका लागि ४ हजार ६ सय ३० रुपैयाँ, सिमराका लागि २ हजार ८ सय ५२ रुपैयाँ, सुर्खेतका लागि १० हजार २ सय ९२ रुपैयाँ भाडा कायम गरेको सो एयरलाइन्सले जनाएको छ । राजधानी दैनिकमा खबर छ