
परासी । मर्मतको अभावमा वार्षिक ७३ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको गण्डक पावर हाउसको वृहत् मर्मतसम्भार हुने भएको छ । १६ बर्षदेखि बिग्रिएर जीर्ण बनेका कारण विद्युत उत्पादन घट्दै गएको पावर हाउसलाई नेपाल विद्युत प्राधिकरणले वृहत् मर्मतसम्भार गरी पूर्ण क्षमतामा सञ्चालनको तयारी गरेको हो ।
नवलपरासीको प्रतापपुर गाउँपालिकामा अवस्थित गण्डक जलविद्युत केन्द्रलाई वृहत् मर्मतसम्भारका लागि नेपाल विद्युत प्राधिकरणले एनईए ईन्जिनियरिङ्ग कम्पनी लिमिटेड काठमाडौंलाई परामर्शदाताको रुपमा नियुक्त गरेको पावर हाउसले जनाएको छ । मर्मतसम्भारका लागि उक्त कम्पनीलाई पावर हाउसको अध्ययन, अनुसन्धान, डिजाईन ड्रईङ्ग, लागत खर्च अनुमान गरी अन्तर्राष्ट्रिय टेण्डर गर्ने र मर्मतको निरीक्षणसमेत गर्ने जिम्मा दिइएको विद्युत उत्पादन केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए ।
गत असोजमा नेपाल विद्युत प्राधिकरण र एनईए ईन्जिनियरिङ्ग कम्पनीबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौताको ५ महिनाभित्र अध्ययन, लागत अनुमान गरी परियोजनाको टेण्डरसमेत गर्ने म्याद तोकिएको छ ।
उक्त पावर हाउस आधुनिक र अटोमेटिक रुपमा चल्ने गरी मर्मतसम्भार हुने र यसको सबै खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने मानजनले बताए ।
यस्तो छ पावर हाउसको अवस्था
नेपाल–भारतबीच भएको गण्डक सम्झौता अन्तर्गत भारत सरकारले गण्डक कमाण्ड क्षेत्रमा सो विद्युत उत्पादन केन्द्र निर्माण गरेको थियो । सन् १९६६ सालमा सुरु भएको पावर हाउस प्रोजेक्ट सन् १९७९ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । भारत र नेपाल बीच भएको सम्झौता अनुसार पावर हाउस सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
२५ वर्षमा ‘रिहैबिलिटेशन’ गर्नुपर्ने पावर हाउस ४१ वर्षसम्म पुग्दासमेत मर्मत नहुँदा मेसिनहरु बिग्रिँदै उत्पादन समेत घटेको छ ।
१५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त पावर हाउसमा ५÷५ मेगावाटको ३ वटा टर्वाइन जडान गरिएको छ । समयमै रिहैबिलिटेशन नहुँदा उक्त पावर हाउसमा जडित टर्वाइन नम्बर १ र ३ पुर्ण रुपले ध्वस्त भइसकेको छ भने टर्वाइन नम्बर २ टालटुल गरी दैनिक ३.५ मेगावाट विद्युत उत्पादन भइरहेको पावर हाउसले जनाएको छ ।
पावर हाउस वृहत् मर्मतसम्भार भएपछि पुनः १५ मेगावाट विद्युत उत्पादन गर्न सकिने विद्युत केन्द्र प्रमुख कपिलदेव मानजनले बताए ।