कांग्रेसले जित्ने ठाउँमा अर्को पार्टीलाई टिकट दिए विद्रोह हुन्छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको जित्ने ठाउँमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताएका छन् ।

कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय सबै नेतालाई पालना गर्न आग्रह गरे।

पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने उनको भनाइ थियो। बहुमतसहितको सरकार बनाउन ७०/८० सिट लिएर नहुने कोइरालाले बताए। उनले बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन सय सिट कांग्रेसले पाउनुको विकल्प नरहेको बताए।

‘गठबन्धनमा चुनाव लडेर जित सुनिश्चित हुने ठानेर अहिले उम्मेदवार बन्ने सूचीमा नाम लेखाउनेको भीड छ,` उनले भने, ´गठबन्धनले जिताउँछ भन्नेमा कसैलाई पनि विश्वास छैन र हामीलाई पनि विश्वास छैन।`

कांग्रेसलाई युवा पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनले पाखा लगाउने उनले आग्रह गरे। पार्टी र विचार नबुझेका अवसरवादीहरू पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको कोइरालाको भनाइ थियो।

केन्द्रीय समितिले चुनावी तालमेल गरेर कांग्रेसले बहुमतको सरकार बनाउने निर्णय गरेको तर, कांग्रेस नेतृत्वले पार्टीको निर्णयलाई नमान्ने अवस्था देखिएको उनले बताए।

‘कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय सबै नेताले मान्नुपर्छ। केन्द्रीय समितिले गठबन्धन गरेर बहुमतको सरकार बनाउने भनेको छ । तर, १०० भन्दा कम सिटमा उम्मेदवारी दिने अवस्था आयो भने कांग्रेसको बहुमत कसरी आउँछ ?’, कोइरालाले भने ।