
काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् । कार्यकारी अधिकार प्रधानमन्त्रीलाई रहे पनि राष्ट्रपति भण्डारीले आफूले जे पनि गर्नसक्ने व्यवहार प्रदर्शन गरेको उनको भनाइ छ ।
‘संविधानअनुसार राष्ट्रपति संवैधानिक भूमिकामा हुनुपर्छ । संविधानलाई उहाँले मान्नुपर्छ । संसदले दुईदुई पटक पारित गरेर पठाएको विधेयक उहाँले प्रमाणीकरण नगर्नु भनेको संविधानभन्दा माथि रहेको देखाउन खोज्नु हो । उहाँले आफूसँग कार्यकारी अधिकार पनि रहेको यो कदममार्फत प्रदर्शन गर्नु भएको छ’, उनले भने ।
शाक्यले राष्ट्रपति संस्थामै कालो दाग लागेको दाबी गरे । ‘पछि आउने प्रतिनिधिसभाले पनि यसलाई गम्भीर समीक्षा गर्नुपर्छ । किनभने हाम्रो प्रतिनिधिसभा भनेको सार्वभौम रहेको छ’, उनले भने ।
जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि रहेको सभाले पारित गरेको विषयलाई राष्ट्रपतिले आफ्नो संवैधानिक भूमिकाअनुसार प्रमाणीकरण गर्नुपर्ने उनको भनाइ छ ।