जातीय कुरा गरेर नेता भइँदैन- सहरी विकासमन्त्री चौधरी

दोलखा । सहरी विकासमन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने बताएका छन्। थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै उनले भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चाउथ्यो। तर, अहिले समय निकै बदलिसकेको छ। अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन।

नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ।’सीमान्तकृत जनजातिहरुलाई राज्यको मूलधारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी विकासमन्त्री चौधरीले दलहरुलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए।

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर, विविध कारणले अड्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आशा व्यक्त गरे। पूर्वमन्त्री पार्वत गुरुङले थामी जातिलाई अघि बढाउन सधैँ लागिपर्ने प्रतिबद्धता जनाए।