काठमाडौं विश्वविद्यालय (केयू)को पठनपाठन मंगलबारदेखि हुने भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार केयूको विशेष सभामा ताला खोल्न र विश्वविद्यालयमा राजनीति नगर्न निर्देशन दिएपछि आन्दोलनरत प्राध्यापक र कर्मचारी संघले पठनपाठन संचालन गर्न दिने जनाएको हो । संघले विज्ञप्ति निकालेर शैक्षिक कार्यहरु संचालन गर्ने दिने जनाएको हो ।

 

विशेष सभा २१ माघमा

 

काठमाडौं विश्वविद्यालय (केयू) को अर्को विशेष सभा आगामी २१ माघमा बस्ने भएको छ ।आन्दोलनरत प्राध्यापक र कर्मचारी संघको मागका विषयमा सहमति नभएपछि अर्को विशेष सभा २१ माघका लागि तोकिएको हो ।

 

‘सोमबारको सभामा १०–१२ जनाले आफ्नो धारणा राख्नुभयो । अधिकांशले राजनीति हुनुहुँदैन भन्नुभयो । तीन जना प्राध्यापकले प्राध्यापक र कर्मचारी संघको पक्षमा बोल्नुभयो,’ सभमा सहभागी एक सदस्यले भने ।

 

उनका अनुसार केयूका संस्थापक सुरेशराज शर्मा लगायतले धारणा राख्न बाँकी छ ।

 

‘प्रधानमन्त्रीले संस्थापकहरुको कुरा सुन्नुपर्छ । तपाईंहरु पनि फेरि छलफल गर्नुहोस् । ताला खुलाउनुहोस् भन्नुभएको छ।  उनले भने, सभामा प्रधानमन्त्रीले कसैलाई पनि व्यंग्य गर्नुभएको छैन ।’

 

‘प्रधानमन्त्रीले उपकुलपति डा. रामकण्ठ मकाजूको प्रस्तावलाई म्याचफिक्सिङ भन्नु भएको छैन,’ उनले भने, प्रधानमन्त्रीले बोल्दै नबोलेको कुरा बाहिर आएको हो । प्रधानमन्त्रीले सभामा त्यस्ता शब्द प्रयोग गर्नु भएको छैन। बाहिर अरु कसैसँग बोलेको भए थाहा छैन ।’

 

प्राध्यापक र कर्मचारी संघले संघलाई वैधानिकता दिइनुपर्ने माग गर्दै आएकाे छ । यही विषयलाई लिएर संघले गत १५ पुसदेखि केयूमा तालाबन्दी गरेको थियो ।