
एजेन्सी- क्यालिफोर्नियाका गभर्नर गेभिन नुजुमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले १०औं संशोधनअन्तर्गत राज्य सरकारको अधिकारमा ‘अतिक्रमण’ गरेको आरोप लगाएको छ।
ट्रम्प प्रशासनको जालमा नपरून् भन्दै यसअघि नै लस एन्जलसकी मेयर करेन बासले एक्समा पोस्ट गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आह्वान गरेकी छन्। ‘शान्तिपूर्ण रूपमा विरोध गर्नुहोस्। लुटपाट र तोडफोड सहन गरिने छैन’, उनले भनेकी छन्।
प्रदर्शनका क्रममा त्यहाँको सुरक्षा निकाय ‘नेसनल गार्ड’को तैनाथीका सन्दर्भमा क्यालिफोर्नियाका गभर्नर नुजुम र एलएका मेयर बासले निन्दा गर्दै परिस्थिति सम्हाल्न स्थानीय प्रहरी सक्षम रहेको जनाएका थिए। क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले नेसनल गार्डको तैनाथी संघीय सरकारको क्षेत्राधिकार बाहिर रहेको र यसले १० औं संशोधनको उल्लंघन गरेको दाबी गरेका छन्।
मुद्दाको सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘तपाईंहरू पनि मैले देखेको जस्तै क्लिप देख्न सक्नुहुन्छ। कारहरू जलिरहेका थिए, मानिस दंगा गरिरहेका थिए। हामीले यसलाई रोक्यौं। यदि, हामीले कारबाही नगरेको भए, ती ठाउँहरू पनि घरहरूजस्तै जल्ने थिए।’
नेसनल गार्डको तैनाथीको विषयमा विवाद भइरहेकै बेला लस एन्जलसमा २१ सय थप नेसनल गार्डहरू तैनाथ गरिएको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। साथै अमेरिकी सेनाले लस एन्जसलमा ७ सय मरिनहरू सक्रिय रहेको पुष्टि गरेको छ।
अमेरिकी सेनाको एक विज्ञप्तिमा भनिएको छ, ‘मरिनहरूको सक्रियताको उद्देश्य टास्क फोर्स ५१ लाई पर्याप्त बल प्रदान गर्नु हो।’ यसअघि, रक्षा सचिव पिट हेगसेथले लस एन्जलसमा हिंसा जारी रहे पेन्टागन सक्रिय सेना तैनाथ गर्न तयार रहेको शनिबार बताएका थिए।