
नयाँ दिल्ली । थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण गरेको छ । बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो ।
विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमानले शुक्रबार बिहान ९ः ३० बजे फुकेट विमानस्थलबाट भारतको राजधानी दिल्लीको लागि उडान भरेको थियो । आपतकालीन अवतरणअघि विमानले अण्डमान सागरमाथि निकै समय चक्कर लगाएको थियो ।